दफा १२
खास अवस्थाका व्यक्तिले व्यक्त गरेको खास खास कुराहरू
 मरेको, बेपत्ता भएको वा साक्षी बस्न यस ऐनबमोजिम असमर्थ वा कर नलाग्ने भएको वा विपक्षीको जाल प्रपञ्चले गर्दा अदालतमा उपस्थित गराउन सम्भव छैन भनि मुद्दाको पक्षले प्रमाणित गरेको वा अदालतद्वारा समाव्हान जारी हुन नसक्ने अवस्थामा भएको वा अदालतको रायमा अनावश्यक रूपमा बढी खर्च वा समय लाग्ने भई उपस्थित गराई रहन अनुपयुक्त देखिएको व्यक्तिले व्यक्त गरेको देहायका कुराहरू प्रमाणमा लिन हुन्छ:
(क) निजको हक, हित वा स्वार्थको विपरीत हुने गरी व्यक्त गरेको कुनै कुरा,
(ख) निज उपर कुनै कानूनी कारवाई हुन सक्ने वा कुनै फौज्दारी अभियोग लाग्न सक्ने गरी लिखित रूपमा व्यक्त गरेको कुनै कुरा,
(ग) निजलाई विशेष रूपमा थाहा भएको कुनै सार्वजनिक हक वा रीतिस्थितिका सम्वन्धमा मुद्दा पर्नु भन्दा अघि लिखित रूपमा व्यक्त गरेको कुनै कुरा, वा
(घ) निजलाई विशेष रूपमा थाहा भएको कुनै नाता सम्वन्धका विषयहरू मुद्दा पर्नुभन्दा अघि व्यक्त गरेको कुनै कुरा ।